ड्रग्ससँग साटिन्छ जवानी ,फ्ल्याटमा चल्छ यौन व्यवसाय
साउन १९, काठमाडौँ। कोटेश्वर, जडीबुटीमा डेरा गरी बस्दै आएकी २४ वर्षीया रश्मि (नाम परिवर्तन) ले सिरिन्जबाट ड्रग्स लिन थालेको पाँच वर्ष भयो । आफूले थाहा पाउँदा सडकमा रहेकी रश्मि सुरुमा डेण्ड्राइफ सुँघ्थिन् । बिस्तारै ठूली हुँदै जाँदा चुरोटको लत लाग्यो, अनि गाँजा, भाङ हुँदै अहिले उनी सिरिन्जको माध्यमबाट लिने ड्रग्समा पुगेकी छिन् । नियमित रूपमा ड्रग्स लिनुपर्ने बाध्यता छ उनलाई, तर खास पेसा भने केही पनि छैन । पेसा नभएपछि उनको त्यो बाध्यता पूरा गर्न जसले ड्रग्स दिन्छ उनी उसैसँग यौनसम्पर्क राख्छिन् । रश्मि ड्रग्स किन्न जसले पैसा दिन्छ उसैसँग यौन साट्न पनि पछि पर्दिनन्, तर उनका अधिकांश यौन साथी उनीजस्तै ड्रग्स युजर हुन् ।
नेपाली समाजमा अचम्म लाग्ने अर्को जोडी हो, कोटेश्वर नै बस्दै आएकी २६ वर्षीया आरती (नाम परिवर्तन) र उनका श्रीमान् अजित (नाम परिवर्तन) । यी दुवै ड्रग्स युजर हुन् । उनीहरूको देखिने खालको कुनै व्यवसाय छैन । आरती भन्छिन्– हामी बेरोजगार हौं । आफ्ना लागि त आरतीले ड्रग्सको जोहो त गर्छिन् नै, साथै श्रीमान्का लागि उनैले ड्रग्स जोहो गरिदिनुपर्छ । त्यसका लागि उनी जसले ड्रग्स दिन्छन् ऊसँग श्रीमान्को सहमतिमै यौनसम्पर्क गर्न तयार हुन्छिन् ।
रश्मि र आरती त ड्रग्ससँग यौन साट्न बाध्य दुई उदाहरण मात्र हुन् । उपत्यकामा यसरी ड्रग्स लिन यौन साट्ने महिलाहरूको संख्या ठूलो रहेको एक सरकारी अध्ययनले देखाएको छ । उपत्यकाका तीनवटै जिल्लामा गत वर्ष स्वास्थ्य मन्त्रालयले ६ महिना लगाएर यो अध्ययन गरेको हो । मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले २०१६ मा सिरिन्जबाट लागूपदार्थ सेवन गर्ने महिलाहरूको सामाजिक तथा व्यक्तिगत आनीबानीका विषयमा अध्ययन गरेको थियो । उक्त अध्ययनमा संलग्नमध्ये १७ प्रतिशत लागूऔषध सेवन गर्ने महिलाले लागूऔषध प्राप्त गर्न आफूहरू जो–कोहीसँग यौनसम्पर्क गर्ने खुलेर जवाफ दिएको उल्लेख छ । ती १७ प्रतिशतमध्ये १ सय २८ जना लागूऔषध प्रयोगकर्ता महिलाले आफ्ना नियमित यौन साथी पनि रहेको बताएका थिए । त्यसमा कसैले जीवनसाथी नै यौनसाथी रहेको बताएका थिए भने कतिपयले लागूऔषधसँग यौन साट्ने कुरा बताएको अध्ययनको नेतृत्व गरेका सुदीपराज खतिवडा बताउँछन् ।
अध्ययनको अर्को जोखिमको पाटो के थियो भने ड्रग्सका लागि पैसा वा ड्रग्स नै लिएर यौनसम्पर्क गर्नेमध्ये ५८ दशमलव ३ प्रतिशतले मात्र कन्डम लगाएर यौनसम्पर्क गरेको पाइएको छ, जसमा ४१ दशमलव ७ प्रतिशत महिलाले भने बिनाकन्डम नै यौनसम्पर्क गर्ने गरेको बताएका छन् । यसरी कन्डम नै नलगाई यौनसम्पर्क गर्दा उनीहरू सधैं यौनरोगको जोखिममा रहने खतिवडा बताउँछन् । ‘एक त सिरिन्जबाट लागूऔषध प्रयोग गर्दा यौन रोगको जोखिम छँदै छ ।’ खतिवडा भन्छन्– त्यसमाथि धेरै यौनसाथी भएकाहरू कन्डमबिनै यौनसम्पर्क गर्दा उच्च जोखिममा छन् ।
Comments
Post a Comment